प्रधानमन्त्रीको सल्लाहकार टिमप्रति कांग्रेस सांसद रामहरिले उठाए प्रश्न

काठमाण्डु टुडे २०८२ जेठ १ गते १३:३४ मा प्रकाशित

काठमाण्डू, १ जेठ– सत्ता घटक दल कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री लगायतले राख्ने सल्लाहकारको विषयमा प्रश्न गरेका छन । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसबारे प्रश्न गरेका हुन ।

उनले प्रधानमन्त्री सल्लाहकार कति छन् भनेर तिनबारे उल्लेख गर्दै प्रश्न उठाए । ‘प्रधानमन्त्रीको सल्लाहकार मन्त्रिपरिषद् आफैँ हुन्छ । परराष्ट्रमन्त्री आफैं सल्लाहाकार हुनुहुन्छ प्रधानमन्त्रीको,’ खतिवडाले भने ।

तर, धेरै सल्लाहकार राखेको भनेर उनले प्रश्न गरे । ‘राजनीतिक विज्ञ सल्लाहकार अरे, कानुन विज्ञ सल्लाहकार अरे, जल तथा वातावरण विज्ञ सल्लाहकार अरे, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ सल्लाहकार अरे, सञ्चार विज्ञ सल्लाहकार अरे, मुख्य सल्लाहकार अरे, आर्थिक विज्ञ सल्लाहकार अरे, जन सम्पर्क सल्लाहकार अरे, मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अरे, सूचना प्रविधि विज्ञ अरे,’ खतिवडाले प्रधानमन्त्रीको सल्लाहकार टिमबारे प्रश्न गरे ।

सल्लाहकार राख्ने नाममा राज्यको अर्बौं खर्च भइराखेको उनले बताए। उनी भन्छन्, ‘यसरी सल्लाहकार राख्ने नाममा एकातिर देशले आर्थिक अवस्था थेग्न नसक्ने छ भने अर्कोतिर सल्लाहकारको नाममा अर्बौं रुपैया जाने परम्पराको विकास भएको छ ।’ सल्लाहकार राख्ने मात्रै नभएर पारिश्रमिक, गाडी सुविधा लगायत सुविधा दिनुपर्ने रहेको बताए ।

‘कतिपय सल्लाहकार मन्त्रीस्तरीय, कतिपय सल्लाहकारहरू राज्यमन्त्र स्तरीय, कतिपय सल्लाहकारहरू हिजो मन्त्री भएर फेरि काहीँ ठाउँ नपाएपछि सल्लाहरको रुपमा सत्ताको वरिपरी बस्नको लागि नियुक्ति भएका छन्,’ उनले भने । सल्लाहकारलाई संविधानले नचिन्ने उनको दाबी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us