
काठमाण्डू, १७ वैशाख– आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरेको प्रारम्भिक राष्ट्रिय लेखा अनुमानअनुसार, गत वर्षको तुलनामा देशको अर्थतन्त्रमा उल्लेखनीय विस्तार हुने देखिएको हो ।
कार्यालयले यसअघि आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब रुपैयाँ रहेको संशोधित तथ्याङ्क प्रस्तुत गरेको छ। त्यस्तै, २०७९/८० मा यो आकार ५३ खर्ब ६७ अर्ब रुपैयाँमा सीमित रहेको थियो ।
नवीनतम अनुमानअनुसार, चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत पुग्ने देखिएको छ। यसमध्ये कृषि क्षेत्रमा ३.२८ प्रतिशत र गैर–कृषि क्षेत्रमा ४.२८ प्रतिशतको वृद्धि हुने अपेक्षा गरिएको छ । प्राथमिक क्षेत्रको वृद्धिदर ३.२५ प्रतिशत, द्वितीय क्षेत्रको ४.६५ प्रतिशत र सेवा क्षेत्रको वृद्धि दर ४.२१ प्रतिशत हुने अनुमान गरिएको छ । ती क्षेत्रहरूले क्रमशः २५.६ प्रतिशत, १२.४ प्रतिशत र ६२ प्रतिशतको योगदान दिने अनुमान गरिएको छ ।
राष्ट्रिय लेखा प्रणाली अन्तर्गत समावेश १८ वटा आर्थिक क्रियाकलापमध्ये विद्युत तथा ग्यास आपूर्ति क्षेत्रले सबैभन्दा उच्च, अर्थात् १३.८२ प्रतिशत वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । त्यसपछि यातायात तथा भण्डारण क्षेत्रले ९.४३ प्रतिशतको वृद्धिदर सहित दोस्रो स्थान लिनेछ। अर्कोतर्फ, तुलनात्मक रूपमा न्यून वृद्धि हुने क्षेत्रमा शिक्षा (१.९८ प्रतिशत) र खानी तथा उत्खनन (१.९९ प्रतिशत) रहेका छन् ।
यस आर्थिक वर्षमा कृषि, वन र मत्स्य क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा २५.१६ प्रतिशतको योगदान दिनेछ भने व्यापार क्षेत्रको योगदान १४.५५ प्रतिशत रहनेछ । पानी आपूर्ति, ढल व्यवस्थापन तथा फोहोरमैला व्यवस्थापनले ०.४२ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रले ०.४६ प्रतिशत मात्र योगदान गर्ने देखिएको छ, जुन सबैभन्दा कम हिस्सा हो ।
आधारभूत मूल्यमा हेर्दा, चालु वर्षको कुल उत्पादन ९२ खर्ब ४६ अर्ब ५५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । यसैगरी, मध्यवर्ती उपभोग ३८ खर्ब ६६ अर्ब ९६ करोड रुपैयाँ हुने देखिएको छ । कुल स्थिर पुँजी निर्माण जिडिपीको २४.०७ प्रतिशत हुने अपेक्षा गरिएको छ । त्यस्तै, कुल अन्तिम उपभोग खर्च ९३.४५ प्रतिशत, वस्तु तथा सेवा निर्यात ८.७४ प्रतिशत र आयात ३३.२३ प्रतिशत रहने अनुमान गरिएको छ ।
आर्थिक संरचनामा बचत र विप्रेषणको भूमिका पनि उल्लेखनीय देखिएको छ। चालु वर्षमा कुल राष्ट्रिय बचत ३६.२४ प्रतिशत पुग्ने अनुमान छ भने वैदेशिक रोजगारबाट आउने विप्रेषण जिडिपीको २५.८९ प्रतिशत रहने देखिएको छ । प्रतिव्यक्ति आधारमा हेर्दा, कुल गार्हस्थ्य उत्पादन १,४९६ अमेरिकी डलर र कुल राष्ट्रिय आय १,५१७ डलर पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।