सेयर बजारमा चौथो दिन पनि गिरावट, कारोबार रकम पनि घट्यो

काठमाण्डु टुडे २०८२ वैशाख १० गते १५:३३ मा प्रकाशित

काठमाण्डू, १० वैशाख– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार चौथो दिन पनि गिरावट आएको छ ।

बुधबार बजार बन्द हुँदा नेप्से ३२.४४ अंकले घटेर २,६५५.८८ विन्दुमा पुग्यो। बजारमा गिरावटसँगै कारोबार रकम पनि घटेको देखिएको छ ।

अघिल्लो दिन ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो भने बुधबारको कारोबार घटेर ७ अर्ब ५७ करोड रुपैयाँमा सीमित भएको छ।

बुधबार कुल ३०८ वटा कम्पनीका सेयर खरिदबिक्रीमा आएका थिए । एक करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर किनबेच भएको रेकर्ड छ । दिनभरको कारोबारमा २८ कम्पनीका सेयर मूल्यमा वृद्धि देखिएको छ भने २१७ कम्पनीका सेयर घटेका छन् । एक कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका सेयर मूल्य क्रमशः ८६१ रुपैयाँ ७० पैसा र ७१२ रुपैयाँ ४० पैसा पुगेका छन् । दुवै कम्पनीको मूल्य ९.९९ प्रतिशतले बढेको हो ।

अर्कोतर्फ, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै, अर्थात् १० प्रतिशतले घटेको छ ।

यसको प्रतिकित्ता मूल्य २,२२४ रुपैयाँ ८० पैसा पुगेको छ । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको मूल्य पनि ५.५९ प्रतिशतले घट्दै ७४० रुपैयाँमा झरेको छ ।

बजारमा सबैभन्दा धेरै कारोबार भएको कम्पनी राधी विद्युत हो । कम्पनीको सेयर प्रतिकित्ता ५७५ रुपैयाँमा ५८ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा ३.८० प्रतिशतले बढी हो । दोस्रो ठूलो कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरमा भएको छ, जसको सेयर मूल्य १,८७९ रुपैयाँ रहेको छ र ५१ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहबाहेक सबै समूहको सूचकांकमा गिरावट आएको छ। विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै, १.८८ प्रतिशतले घटेको छ भने अन्य समूहको परिसूचक १.८३ प्रतिशतले ओरालो लागेको छ। समग्र बजार सूचकांकमा गिरावट आउनुको मुख्य कारण यिनै समूहगत घटावटहरू मानिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us