नगर प्रहरीलाई पेलेरै हाजिर हुन पुगे काठमाण्डू महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

काठमाण्डु टुडे २०८१ चैत २० गते १२:०९ मा प्रकाशित

काठमाण्डू, २१ चैत– काठमाण्डू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेका छन् । उनलाई रोक्न काठमाण्डू महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले महानगर प्रहरी समेत खटाइएका थिए ।

उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका छन् । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको छ ।

यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका हुन् । उनीहरूले कुनै पनि हालतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउने बताइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us