
काठमाण्डू, ११ चैत– साताको कारोबारको दोस्रो दिन आज (सोमबार) ६ दिनपछि सेयरबजार परिसूचक नेप्सेमा हरियाली छाएको छ । चैत ३ गते यता कारोबारका दिन लगातार घटिरहेको नेप्से परिसूचक सोमबार झण्डै ३१ अंकले बढ्दा हरियाली छाएको हो ।
आइतबार नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६ अंकमा आइपुगेको हो । सोमबार नेप्से ३१.५२ अंकले बढ्दा २ हजार ६४५.२० को बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।
आज ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३५ लाख बराबरको सेयर किनबेच भएको छ । आइतबार ६ अर्ब ३२ करोडको कारोबार भएको थियो ।
आज २१० वटा कम्पनीको सेयर मूल्य बढेको छभने ३३ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । आज सबै सेक्टरका सूचक बढेका छन् ।
सबैभन्दा अगाडि फाइनान्स ३.७५ प्रतिशत बढेको छ । बैंकिङ ०.९२, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर १.००, लगानी ०.९५, जीवन बीमा १.६४, उत्पादन ०.८०, माइक्रोफाइनान्स ०.९०, निर्जीवन बीमा ०.६१, अन्य १.९१ तथा व्यापार १.५५ प्रतिशतले वृद्धि भएको हो ।