काठमाण्डू, २९ फागुन– प्रधानमन्त्री केपी ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा फागुपूर्णिमाको शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले हर्ष र उमंगको पर्व वसन्तोत्सव र मदनोत्सवसमेत भएको बताए ।
फागुपूर्णिमालाई होली पर्वका रूपमा मनाउने गरिएको तथा वसन्त ऋतुको यो पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मनिने भन्दै ओलीले शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्ने तथा चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउने उल्लेख गरे ।
‘फागुपूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ । हाम्रो प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको छ । मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ । यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ’, ओलीले लेखेका छन्, ‘हर्ष र उमंगको क्रिडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामना, ह्याप्पी होली ।’