पश्चिम नवलपरासी, २८ फागुन– कांग्रेस महामन्त्री गगनकुमार थापाले पछिल्लो समय नागरिकमा बढेको असन्तुष्टिप्रति सरकार र राजनीतिक नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बताएका छन् ।
कांग्रेस पश्चिम नवलपरासी–२ (क) को क्षेत्रीय सम्मेलनलाई मंगलबार सम्बधोन गर्दै थापाले जनताको असन्तुष्टिलाई राजावादी शक्तिले प्रयोग गर्न खोजेकाले सचेत हुनुपर्ने औंल्याएका हुन् ।
जनताको आक्रोशलाई एकथरी मानिसले घ्यू थप्ने प्रयास गरेकाले सरकार र दलका नेताहरूले जनभावना बुझेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
फरक प्रसंगमा उनले राजनीतिक नेतृत्वको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताएका छन् ।
हालसम्म चर्चामा आएका भ्रष्टाचार काण्ड र नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने उनको भनाइ छ ।
अख्तियार र सरकारले गरेका अनुसन्धानमा चित्त नबुझेको भए संसद्ले अवकाश प्राप्त पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्न सकिने उल्लेख थापाले गरे ।
‘कुनै अवकाशप्राप्त प्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरौं । समितिले दोषी देखाएका सबैलाई मामा, काका, दाइ नभनी सबैलाई कारबाही गरौं’ थापाले भने ।