काठमाण्डू, २८ फागुन– माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक नेतृत्वको नभई कर्मचारी तन्त्रको विकल्प खोज्नुपर्ने बेला भएको बताएका छन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) द्वारा बुधबार आयोजित ‘नयाँ युगको कार्यभारः वैकल्पिक राजनीतिक औचित्य र आधार’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै शर्माले अबको विकल्प राजनीतिमा नभइ कर्मचारीतन्त्रमा चाहिएको बताए ।
कर्मचारीतन्त्रले शासकले भनेको नमान्दा राज्यका समस्या समाधान गर्न नसकिएको जिकिर गरे । उनले राजनीतिक परिवर्तन भए पनि राज्यका अंगहरू पुरानै रहेकाले उनीहरूको वुद्धिविवेकले काम नगरेको आरोप लगाए ।
उनले सत्तामा पुगेका हरेक नेताहरूलाई पुरानो कर्मचारीतन्त्रले सञ्चालन गर्ने गरेको दाबी गरे ।
संविधानमा उल्लेखित समाजवादको बाटो कस्तो हुने भन्नेकुरामा वैचारिक अन्योल देखिएको बताएका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका शर्माले विकासको मोडालिटी नै प्रष्ट नभएको भन्दै बजेट खर्च गर्न समस्या भएको उल्लेख गरे ।