भारतीयलाई नागरिकता बेच्ने वडाअध्यक्षमाथि कारबाही गर्न राजकिशोरको माग

काठमाण्डु टुडे २०८१ फागुन २७ गते १८:१३ मा प्रकाशित

काठमाण्डू, २७ फागुन– जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रथम उपाध्यक्ष एवं सांसद् राजकिशोर यादवले आफ्नो गृहजिल्ला सिरहाको नरहा गाउँपालिका–३ मा भारतीयलाई नेपाली नागरिकता दिइएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै यादवले जनपतिनिधि र कर्मचारीको मिलेमतोमा भारतीयलाई नेपाली नागरिकता दिइएको बताए । उनले वडाअध्यक्षले भारतीयलाई नागरिकता बिक्री गरेको आरोप लगाए ।

भारतीयलाई नेपाली नागरिकता दिइएको विषयमा कारबाहीको माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए पनि सत्तारुढ सम्वद्ध व्यक्ति भएकाले कारबाही नभएको उनको भनाइ थियो ।

‘सिरहा जिल्ला नरहा गाउँपाकिा–३ मा एक जना भारतीय नागरिकलाई त्यहाँको वडाध्यक्षबाट नेपाली नागरिक बनाई नागरिकता बेच्ने काम भएको छ । ०८० असार २६ मा स्थानीयले यो नेपाली नागरिक होइन, भारतीय हो भनेर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको छ’, यादवले भने, ‘सत्ताधारी पार्टीको वडाध्यक्ष भएकाले त्यो मान्छेमाथि कारबाही भएको छैन । सरकारले नागरिकता बेच्नेलाई पनि कारबाही गर्न चाहँदेन भने के गर्ने ?’ ।

नरहा–३ का वडाअध्यक्षको सिफारिसमा भारतीय नागरिक मोसताक मियाँले नागरिकता लिएको विषय यसअघि सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो ।

उनले सिरहा जिल्ला माफियाको केन्द्र बनेको पनि टिप्पणी गरे ।

सशस्त्र प्रहरीको हत्या, रिंकु सदाको सामूहिक बलात्कारपछि हत्या, चुरे दोहनमा संलग्न भूमाफियाद्वारा पत्रकारको क्यामेरा तोडफोडजस्ता घटना हुँदा पनि दोषीमाथि स्थानीय प्रशासनले कारबाही गरेको भन्दै यादवले आपत्ति जनाए ।

अर्को एक फरक प्रसंगमा यादवले १ नम्बरमा सिफारिस भएकी डा. संगीता मिश्रलाई मधेसी महिला भएकै कारण स्वास्थ्य सचिवमा बढुवा नगरेकामा आपत्ति जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us