काठमाण्डू, २७ फागुन– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र अन्त्य हुँदा सदासयतापूर्वक सुरक्षित बासस्थानको व्यवस्था गरेको नबिर्सन चेतावनी दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै मंगलबार उनले संसारमा गणतन्त्रको इतिहास राजतन्त्रको रगतले लेखिएको स्मरण गरे ।
‘म चेतावनीका साथ बन्न चाहन्छु शान्ति प्रत्रिया मात्र होइन, गणतन्त्रको स्थापना पनि मौलिक रहेको छ । संसारभरिको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले लेखिएको थुप्रै भेटिन्छन् । तर, नेपाल त्यसको अपवाद बन्यो । हामी सबैलाई राम्रोसँग जानकारी छ, त्यो हाम्रो मौलिकता र उदारतापको एउटा प्रमाण थियो’, उनले भने, ‘पूर्वशाही परिवारमाथि हिंसाको कुरा त परै जाओस्, निर्वासनसमेत नतोकी पूर्वराजालाई तत्कालका लागि सुरक्षित बस्ने ठाउँसमेत दिएर नेपालमा गणतन्त्रको इतिास लेखिएको हो भन्ने कुरा हामी कसैले बिर्सन हुँदैन । यो इतिहास क्रान्तिको मजबुरी थियो भन्ने कसैलाई लागेको भए त्यो निकै ठूलो भ्रम मात्र हुनेछ । यसले उदारतालाई कमजोरी ठानियो भने इतिहास निकै निर्मम भएर प्रस्तुत हुन सक्छ भन्ने हामी सबैले हेक्का राख्नुपर्छ ।’
उनले गणतन्त्रको जग कति फराकिलो छ भन्ने चर्चा गर्दै भने, ‘हामी कसैले नबिर्सौं । क्रान्तिको इतिहास पढ्नुस् । गणतन्त्रको जग कति फराकिलो छ । माओवादीले उठाएको बन्दुकको कारणले मात्र होइन, यो देशका सबैभन्दा सीमान्त वर्ग, जाति, क्षेत्र, लिंग, समुदाय समग्रको त्याग र बदिलानको परिणामका रुमपा आएको हो । यो हेक्का हामी सबैलाई रहोस् । सार्वभौम भइसकेका नेपाली जनता फेरि रैती हुन्छन् भन्ने सोचियो भने त्यो भन्दा ठूलो भ्रम अरु केही हुनै सक्दैन । हिजो गणतन्त्र माग्दा टाउकाको मोल तोकिएको थियो राजतन्त्र अन्तर्गत । अहिले राजावादी साथीहरु सम्मानित संसदमै हुनुहुन्छ । राजतन्त्र र लोकतन्त्रको तुलनै हुन सक्दैन भन्ने कुराको यो भन्दा राम्रा उदाहरण अरु केही हुन सक्दैछ र ? ।’
प्रचण्डले राजावादीहरुलाई लोकतन्त्रभित्रै स्थान खोज्न आग्रह गरे । ‘राजावदीहरुलाई मेरो आग्रह छ, लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस् । हामीलाई आपत्ति छैन । लोकतन्त्र जति प्रचण्डको हो । त्यति नै व्यक्ति ज्ञानेन्द शाहको पनि हो भन्ने मान्यता हामी सबै राजनीतिक दलहरुले पनि राखेका छौं र हाम्रो संविधानले त्यो कुरा स्वीकार गरेको छ । यसलाई हाम्रो कमजारी नठानियोस् । लोकतन्त्रका मुलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तिले फेरि एक चोटी आफ्नो शक्ति देखउँने छ यो चुनौती पनि म राख्न चान्छु’, प्रचण्डले भने ।
राजावादीहरु संसदमा पनि रहेको भन्दै उनले इतिहासको चक्कालाई पछाडि फर्काउन सम्भव नरहेको बुझ्न सुझाए ।