काठमाण्डू, २७ फागुन– प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरू सल्बलाउनुको पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनःस्थापनको सपना देख्न डराएकाहरु सडकमै ओर्लिएको उनले बताए ।
सरकारका कारण त्यस्तो वातावरण बनेको उनको भनाइ थियो । ‘राजावादीको यो चलहपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ’, उनले भने, ‘यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन् ।’
‘प्रचण्डले पछिल्ला ८ महिनामा सत्तारुढ पार्टीले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण भएको उनले स्पष्ट गरे ।