काठमाण्डू, २७ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले सरकारकै गतिविधिका कारण पूर्वराजा ज्ञनेन्द्र शाहको पक्षमा जनमत बढेको दाबी गरेको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा सांसद् रोशन कार्कीले गत २५ फागुनमा काठमाण्डूमा पूर्वराजा शाहको समर्थनमा देखिएको भिड ‘ट्रायल’ मात्रै भएको बताइन् । उनले सबै जिल्लाका मानिस यसैगरी उत्रिएको गणतन्त्र पक्षधर नेताहरूलाई लुक्ने ठाउँ समेत नहुने उनको जिकिर थियो ।
‘एक जना मित्रले के भन्नुभयो भने राजाको जयजयकार गरेको र नेताहरू जिल्लामा जाँदा मुर्दावाद भनेको उहाँले सुन्नुभएको थिएन होला,’ कार्कीले भनिन्, ‘मित्र यो त ट्रायल मात्रै हो । अरु जिल्लाका मान्छे थपिए, अरु ७३ जिल्लाका मान्छे थपिए भने त्यो देखेर नआत्तिनुहोला ।’
उनले त्यतिबेला लुक्ने ठाउँ अहिले नै खोजेर बस्न समेत आग्रह गरिन् । ‘लुक्ने ठाउँ अहिले नै खोजेर बस्नुहोला,’ कार्कीले चेतावनी दिँदै भनिन् ।