देउवालाई प्रश्नः पूर्वराजालाई भारतले उचालेको हो ?

काठमाण्डु टुडे २०८१ फागुन २६ गते २०:०६ मा प्रकाशित

धनगढी, २६ फागुन– कांग्रेस सभापति शेरबहादुर देउवाले राजावादीहरुको प्रदर्शनबाट कोही आत्तिनुनपर्ने बताएका छन् ।

पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन उदघाटनका लागि सोमबार कैलाली आएका देउवाले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै राजावादीले कुनै अदभूत् प्रदर्शन नगरेको टिप्पणी गरे ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतले उचालेको हो ? भन्ने सञ्चारर्कीको प्रश्नमा आफूलाई थाहा नभएको जवाफ दिए । ‘कहाँ के अद्भुत भएको छ ? केही भएकै छैन । कसैले उचाल्ने कुरा पनि छैन । उचालेको थाहा पनि छैन ।’

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाण्डू फर्कने क्रममा राप्रपासहित विभिन्न राजावादी समूह र हिन्दूवादीहरुले प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागी भएका केहीले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर अंकित पोष्टर बोकेका थिए । सोही विषयलाई लिएर सरकार नेतृत्वकर्ता दल एमालेका नेताहरुले भारतको उक्साहटमा राजावादीहरु हौसिएको टिप्पणी गरेका छन् ।

देउवाले मुलुकमा दुई ठूला पार्टीको सरकार रहेको र सबै कुरा राम्ररी चलेको दाबी गरे । वर्तमान सत्ता गठबन्धन ०८४ सम्मै जाने दाबी पनि देउवाले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us