जनमत पार्टी गणतन्त्र रक्षाका लागि आन्दोलनमा उत्रने

काठमाण्डु टुडे २०८१ फागुन २६ गते १९:३७ मा प्रकाशित

काठमाण्डू, २६ फागुन– सिके राउत नेतृत्वको जनमत पार्टीले गणतन्त्र रक्षाका लागि संगठनलाई तम्तयार राख्ने निर्णय गरेको छ ।

महोत्तरीको बर्दिबासमा आइतबार र सोमबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले सडक, सदन र सरकार तीनै मोर्चाका लागि सशक्त तयारी गर्ने निर्णय गरेको हो ।

संगठन विस्तार, पार्टी प्रवेश तथा अधिवेशनका कार्यक्रमहरूका साथसाथै सशक्त आन्दोलनका लागि युवादस्ता गठन तथा प्रशिक्षणमा विशेष जोड दिने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

‘देशमा भइरहेको राजनीतिक प्रतिगामी ध्रुवीकरणप्रति सचेत भएर जनचेतना फैलाउने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति संगठनलाई तयार राख्ने निर्णय गरियो’, विज्ञप्तिमा छ ।

समग्र देशको विकास र अबको निकास नौलो गणतन्त्र’ भएको विषयमा घरघरमा विचार फैलाउने र विभिन्न कार्यक्रमहरूको आयोजना गरेर माहेले बनाउने पनि बैठकमा निर्णय भएको नेता अब्दुल खानले बताए ।

यस्तै संगठन विस्तारका लागि सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भातृसंगठनहरूको गठनमा जोड दिने, अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेरसमूह, व्यवसाय समूह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम संचालन गर्ने निर्णय सो पार्टीले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us