काठमाण्डूका यी स्थानमा निषेधाज्ञा जारी

काठमाण्डु टुडे २०८१ फागुन २६ गते १८:२१ मा प्रकाशित

काठमाण्डू, २६ फागुन– स्थानीय प्रशासनले काठमाण्डूका केही स्थानमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डूले सोमबार एक सूचना जारी गर्दै निषेधाज्ञा जारी गरेको हो ।

सिंहदरबार, संघीय संसद भवन नयाँबानेश्वर, सर्वोच्च अदालत परिसर रामशाहपथ, राष्ट्रपति कार्यालय शतिलनवास, बालुवाटारस्थित प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष र प्रधानन्यायाधीश निवास तथा भैंसेपाटीस्थित मन्त्री निवास क्षेत्र र आसपास पाँच जनाभन्दा बढी जम्मा भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ ।

‘यी स्थानमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उश्रृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जाने अवस्था तथा अन्तर्राष्ट्रिय अभ्यास र यसअघि सम्मानित अदालतबाट भएको आदेश एवम् फैसला समेतलाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति काठमाण्डूको कासिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम विगतदेखिकै निरन्तरताको रुपमा निषेधाज्ञा आदेश जारी गरिएको छ,’ जिल्ला प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us