पूर्वराजाको निवास र सुरक्षा सरकारले खोस्न सक्छः सिटौला

काठमाण्डु टुडे २०८१ फागुन २६ गते १७:४७ मा प्रकाशित

कैलाली, २६ फागुन– काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजालाई दिएको निवास र सुरक्षा प्रबन्ध सरकारले खोस्न सक्ने बताएका छन् ।

कांग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलनलाई सोमबार धनगढीमा सम्बोधन गर्दै सिटौलाले सरकारले निर्णय गरेर ज्ञानेन्द्रलाई निवास र सुरक्षा दिएकाले सरकारले अर्को निर्णय गरेर खोस्न सक्ने बताए ।

उनले तत्कालीन गृहमन्त्रीका हैसियमा आफैंले गएर पूर्वराजालाई नारायणहिटी दरबार छाडेर जान भनेको स्मरण गरे । ‘म आफैं पूर्वराजालाई नारायणहिटीबाट बिदा गर्न गएको हुँ । राम्रै सम्झाएको हुँ’ सिटौलाले भने, ‘सरकारकै निर्णयले तत्कालीन अवस्थामा नागार्जुनमा बस्न दिएको हो । सुरक्षा बन्दोबस्त गरेको हो । सरकारले चाह्यो भने हटाउन सक्छ ।’

उनले पूर्वराजाबारे चर्चा गर्नु आवश्यक नरहेको पनि उल्लेख गरे । अमुक पार्टीका १५ हजार मानिसले सडकबाट राजा चाहियो भन्दैमा राजतन्त्र नफर्कने उनको स्पष्टोक्ति थियो ।

उनले पूर्वराजा ज्ञानेन्द्रको तागतबारे आफू जानकार रहेको भन्दै उनी सिंशासनमा फर्केर नआउने स्पष्ट गरे ।

‘म आफैं गएर एक घण्टा बसेर सम्झाइबुझार्इ नारायणहिटीबाट बाहिर पठाएको हुँ,’ सिटौलाले भने, ‘ज्ञानेन्द्र कुन तागतका मानिस हुन् बुझेको छु । फर्केर आउँदैनन्, आत्तिनु पर्दैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us