काठमाण्डू, २६ फागुन– नेकपा एकीकृत समाजवादीले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी समूहहरुलाई नांगेझार पार्न अपिल गरेको छ ।
सोमबार बसेको सो पार्टीको सचिवालय बैठकले गणतन्त्रविरूद्ध प्रतिगमनकारी र पुनरूत्थानवादी शक्तिहरूको चलखेल र गतिविधि बढाएको भन्दै उनीहरूले इतिहासमा गरेको कुकर्मको नांगेझार गर्न आग्रह गरेको हो ।
नेपाली जनताको चाहना र भावना विपरीत प्रतिगामीहरु चलखेल बढेको निस्कर्ष समाजवादीको छ । परिवर्तनका पक्षधर शक्ति तथा व्यक्तिहरू एकताबद्ध भएर अगाडि बढ्न सो पार्टीले अपिल गेरको छ ।
‘केही व्यक्तिहरूले नेपाली जनताको लामो संघर्ष र जननिर्वाचित संविधान सभाबाट स्थापित गणतन्त्रका विरूद्ध गतिविधि गर्न थालेका छन्। यस्ता गतिविधिहरू नेपाली जनताको चाहना र भावना विपरीत छन् । यस विषयमा परिवर्तनका पक्षधर व्यक्तिहरू एकतावद्ध भएर अगाडि बढ्न आवश्यक छ’, बैठकपछि जारी अपिलमा भनिएको छ, ‘वर्तमान गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै हो भन्ने तथ्यमा जोड दिँदै हाम्रै काम र अभ्यासहरूको समेत गम्भीर आत्मसमीक्षा गर्दै प्रतिगमनकारी तथा पुनरूत्थानवादी तत्वहरूले इतिहासमा उनीहरूले गरेका सम्पूर्ण कुकर्महरूलाई नाङ्गेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आम जनसमुदायमा अपिल गर्दछौं ।’
समाजवादीले आगामी १ चैतमा बृहत् पत्रकार सम्मेलन गरी गणतन्त्र र संविधानको रक्षा एवं रोजगारी र सुशासनको निम्ति पार्टीले गर्न लागेको आन्दोलनको रूपरेखा एवं कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूको चलखेल बढेको भन्दै त्यसको विरोध गरेको छ ।