स्कुटर चोरेको आरोपमा २ जना पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन २५ गते १३:२५ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– प्रहरीले स्कुटर चोरेको आरोपमा ट्राफिक दुई जनालाई पक्राउ गरेको छ । कामठमाण्डूको छुट्टाछुट्टै स्थानबाट स्कुटर चोरीमा संलग्न दुई जनालाई काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घर भई हाल काठमाण्डूको मनमैजु बस्ने २० वर्षीय शनिस श्रेष्ठ र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १३ घर भइ हाल मनमैजु बस्ने १८ वर्षीय सुशान्त बुढा मगर रहेका छन ।

वास्तविक नम्बर बा ८७प १६४४ रहेको स्कुटरमा नम्बर प्लेट नराखी तार्केश्वर नगरपालिका १० घलेपुलमा चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले पक्राउ गरेको हो । उक्त स्कुटर सामाखुसी बस्ने महेशचन्द्र खनालले तारकेश्वर नगरपालिका ९ बाट हराएको भनी निवेदन दिएका थिए ।

उक्त स्कुटर सुशान्त बुढा मगरले दिएको भनी खुल्न आएकाले खोजतलास गर्दै जाँदा काठमाण्डूको मनमैजुबाट सुशान्तलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । अनुसन्धानकै क्रममा अर्को स्कुटर पनि लुकाएर राखेको भन्ने खुल्न आएकोले खोजतलास गर्दा तार्केश्वर नगरपालिका १० घलेपुलमै नम्बर प्लेटनै नभएको र पार्किङ गरी राखेको अवस्थामा स्कुटर फेला परेको थियो ।

वास्तविक नम्बर बा-९२ प -९३९५ भएको स्कुटर टोखा नगरपालिका ११ बाट हराएको भनि रामेछापका रिकी थापा मगरले निवेदन दिएका थिए । नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वत्त बालाजु पठाइएको काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us