काठमाण्डू, २४ फागुन– प्रहरीले मकवानपुरमा युवतीलाई बलात्कार गरेको आरोपमा १८ वर्षमुनिका ७ जना किशोरहरूलाई पक्राउ गरेको छ । घटना करिब डेढ महिना अघिको रहेको खुलेको प्रहरीले जनाएको छ ।
गत माघ ६ गते बिहान साढे ८ बजे हेटौंडा उपमहानगरपालिका– २, स्थित वनस्खण्डी मन्दिर माथिको जंगलमा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन । पीडित युवतीले २१ फागुनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिइन् ।
प्रहरीले २२ फागुनमा हेटौंडाका विभिन्न स्थानमा बस्ने ५ जना आरोपित किशोरहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिएका छन ।
आरोपित थप दुई जना किशोरलाई २३ फागुनमा पक्राउ गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।