डोटी, २४ फागुन– गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।
काँग्रेस निकट पत्रकारको संस्था प्रेस युनियन डोटीले शनिबार गरेको पत्रकार भेटघाटमा मन्त्री लेखकले लोकतन्त्रको विकल्प निरंकुशता वा राजतन्त्र हुन नसक्ने बताए ।
आन्दोलनले एकपटक फालेपछि राजा फर्किएको इतिहास संसारमा कतै नरहेको उनको भनाइ थियो । ‘क्रान्तिबाट राजा फालिसकेको राजतन्त्र फर्किएको उदाहरण संसारमै छैन’, उनले भने, ‘लोकतन्त्रको विकल्प निरंकुशतन्त्र हुन सक्दैन ।’
लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिकका रुपमा सधै अधिकार प्रयोग गरेर बस्न सुझाए । ‘फालिएका राजालाई राज्यले सुरक्षा दिने र नागरिक सरह सबै सुविधा उपभोग गरेर बसेको उदाहरण संसारमा कमै छ’, उनले भने, ‘यो लोकतन्त्रको शुन्दर, उन्नत र संयमित उदाहरण हो ।’
लेखकले अहिले लोकतन्त्रविरोधीहरु सल्बलाएको चर्चा गर्दै लोकतन्त्रविरोधीका लागि गतिविधि गर्ने वातावरण पनि लोकतन्त्रकै कारण बनेको स्पष्ट गरे । लेखकले राजनीति गर्न मन लागेको भए चुनाव लडेर जित्न चुनौती दिए ।