अटो र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन २४ गते ८:३५ मा प्रकाशित

काठमाण्डू, २४ फागुन– उदयपुरको त्रियुगा नगरपालिका–९ स्थित मदन भण्डारी राजमार्गको राजावास खण्डमा हिजो साँझ अटो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको लेटाङ नगरपालिका–७ बस्ने वर्ष २६ को अजय लिम्बू रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिएको छ । अटोसँग ठोक्किँदा मोटरसाइकल चालक लिम्बूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रदेश १–०५–०० ह ०३१० नम्बरको अटो रोकेर यात्रु उतारेपछि घुमाउने क्रममा तीव्र गतिमा आउँदै गरेको प्रदेश १–०२–०४ प ५७४३ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका चालक लिम्बूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेको थियो। घटना लगत्तै प्रहरीले अटो चालक त्रियुगा नगरपालिका–७ चुहाडे बस्ने ३८ वर्षीय भुसीलाल दनुवारलाई अटोसहित नियन्त्रणमा लिएको छ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us