तराई–मधेश अभियानले राष्ट्रकै ध्यान मधेशतिर खिचेको छः प्रचण्ड

काठमाण्डु टुडे २०८१ फागुन २३ गते १८:०० मा प्रकाशित

काठमाण्डू, २३ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पनि लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने दुस्साहस भइरहेको दाबी गरेका छन । आज शुक्रबार तराई–मधेश अभियानका क्रममा सर्लाहीको मलंगवामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

अध्यक्ष प्रचण्डले अहिले पनि प्रतिक्रियावादी तत्वहरूले कुनै न कुनै रूपले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने दुस्साहस गरिरहेको बताएका हुन ।

उनले उक्त दुस्साहसविरुद्ध संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै अध्यक्ष प्रचण्डले परिआएको खण्डमा काठमाडौंको सडकमा फेरि लाखौंको संख्यामा जनता उतार्ने चेतावनी समेत दिएका छन ।

यसका लागि तराई-मधेशका जनतालाई उनले अपिल पनि गरे । अध्यक्ष प्रचण्डले यही जनमतका लागि जनशक्ति निर्माण गर्ने र आइपर्‍यो भने सडकबाट चुनौती दिने उद्देश्यले यो अभियान सुरु गरिएको पनि बतएका छन । उनले यो अभियान विल्कुल जनताको आवश्यकता र यस क्षेत्रका जनताको आवश्यकता अनुकूल भएको पनि बताएका छन ।

उनले भने, ‘हुलाकी राजमार्गलाई केन्द्रमा राखेर यहाँका जनताको पिरमर्का के छन्, किसानका समस्या, महिलाका समस्या, दलितका समस्या, मधेशका समस्या, आदिवासी जनजाति, मुस्लिमका समस्या नजिकबाट बुझ्ने उद्देश्यका साथ अभियान सुरु गरेका हौं ।

यहाँका बुद्धिजीवी एवं व्यवसायीहरूको सोच के छ, किसनका समस्या के छन् भनेर बुझ्न र यहाँको समस्यालाई राष्ट्रिय रूपमा स्थापित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।’

उनले यो अभियानबाट जनताले ऊर्जा दिएको भन्दै उनले आफूहरूमा उत्साह थपिएको बताए । ‘भाषण गर्नका लागि मात्रै यो अभियान चलाएका होइनौं ।

भाषण भन्दा पनि यहाँका जनताको आर्थिक समस्या, राजनीतिक समस्या, सांस्कृतिक समस्या बुझ्ने अभियानका रूपमा लिएका छौं । निकै ठूलो मात्रामा जनताका समस्या केन्द्रित गरेका छौ,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us