एमाले मोरङमा केपी ओलीका उम्मेदवार पछाडि

काठमाण्डु टुडे २०८१ फागुन २३ गते ६:३५ मा प्रकाशित

विराटनगर, २३ फागुन- एमाले मोरङको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली समर्थित उम्मेदवार पछि परेका छन् ।

जारी मतगणनामा अजम्बर राईले अग्रता लिएका छन् । ४ सय ३८ मत गणना हुँदा अध्यक्षका प्रत्यासी राईले २ सय २५ मत पाएका छन् । राईका प्रतिद्वन्द्वी राजकुमार ओझाले २ सय १२ मत प्राप्त गरेका छन् ।

ओझालाई एमाले अध्यक्ष ओलीको समर्थन छ । राईलाई नेता विनोद ढकालको साथ छ । उपाध्यक्ष, सचिव, सहसचिव र महिला सहसचिवसहित अधिकांश पदाधिकारीमा पनि राई समूहका उम्मेदवार अगाडि छन् ।

उपाध्यक्ष रामबहादुर थापा बादलले १७ फागुनमा एमाले मोरङको अधिवेशन उदघाटन गरेका थिए । अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिएका थिए ।

तर, ढकाल समूहले दबाब अस्वीकार गरेपछि दुई प्यानलबीच निर्वाचन भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us