हातमा हत्कडी र नेल लगाएर नेपालीलाई फिर्ता गर्नु मानवअधिकार विपरीतः देवेन्द्र पौडेल

काठमाण्डु टुडे २०८१ फागुन २२ गते १५:१५ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– पूर्व मन्त्री नेकपा माओवादी केन्द्रका नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले हातमा हत्कडी र नेल लगाएर नेपालीलाई फिर्ता गर्नु मानवअधिकार विपरीत भएको बताएका छन ।

हिजो बुधबार मात्रै अमेरिकाबाट नेपालीहरू निकै अपमानजनक तरिकाले हातमा हत्कडी र नेल लगाएर फिर्ता हुनु परेको भन्दै सांसद पौडेलले यसलाई मानवअधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्यमान्यता विपरीत भएको बताएका हुन ।

आज (बिहिबार) बसेको प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै सांसद पौडेलले यस्तो बताएका हुन । उनले भने, ‘अमेरिकाबाट भर्खरै १० जना र केही समय अगाडि २५ गरी ३५ जना नेपालीहरू निकै अपमानजनक तरिकाले हातमा हत्कडी र नेल लगाएर फिर्ता भएका छन् । हातमा हत्कडी र नेल लगाएर फिर्ता गरिनु मानवअधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्यमान्यता विपरीत छ ।’

सांसद पौडेलले विदेशमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिनका लागि ‘अन्तर्राष्ट्रिय सेल’ गठन गर्न माग गरे । विदेशमा रहेका नेपालीहरूको अवस्था बुझनका लागि सरकारले तुरून्तै परराष्ट्र मन्त्रालयमार्फत गम्भीर प्रकारको अन्तर्राष्ट्रिय सेल गठन गरेर नेपालीहरूको सुरक्षा गर्न पहल कदमी लिनुपर्ने उनको भनाइ थियो ।

संसारभरिका नेपालीहरू अपमानित हुने जुन प्रकारको अवस्था सिर्जना भएको छ यसको अन्त गरेर नेपालमै सुन्दर भविष्य खोज्ने वातावरण बनाउन सरकारले गम्भीर पहल गर्न समेत सांसद पौडेलले माग गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us