काठमाण्डू, २१ फागुन- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आफूलाई जिरो नम्बर दिएको विषयमा प्रतिक्रिया जनाएका छन् ।
प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गतका वितरण केन्द्रँअन्तर्गत सडकबत्तीको महसुलर्गत भुक्तानी गर्ने पालिकालाई प्रशंसापत्र प्रदान गर्ने बुधबार आयोजित कार्यक्रममा बोल्दै घिसिङले शून्य वा सय नम्बर दिए पनि आफूलाई फरक नपर्ने बताए ।
सरकारले शून्य नम्बर दिएको भए पनि जनताले आफ्नो कामको मूल्यांकन गरेको उनको भनाइ थियो । आफूले हालसम्म ५/६ पटकसम्म स्पष्टीकरण दिएको र आजै वा भोलि हटाउँछ भन्ने हल्ला सुन्दै आए पनि काम नछाडेको घिसिङले बताए । आफू अन्तिम घण्टा र अन्तिम मिनेटसम्म पनि काममै हुने प्रष्टीकरण पनि उनले दिए ।
‘आज हो कि भोलि हो भन्ने हल्ला तपाईंहरुले सुन्नुभएको होला । तर भए पनि लास्ट मिनेटसम्म काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मैले ५/६ वटा स्पष्टीकरण दिए होला, सोधे होला । त्यसले माने राख्दैन’, घिसिङले भने, ‘मलाई जिरो दिए पनि, सय दिए पनि त्यसले पनि माने राख्दैन । तपाईंहरुले मूल्यांकन गरिराख्नुभएको छ. । तपाईंहरुले ० दिनुहुन्छ कि, सय दिनुहुन्छ कि, ५० दिनुहुन्छ कि ? तपाईंहरुले मूल्यांकन गर्नुभएको होला ।’
आफूले राष्ट्रिय जिम्मेवारी लिएर काम गरिरहेको भन्दै उनले जतिसुकै स्पष्टीकरण खानुपरे पनि तागत र ल्याकतका साथ आफूले काम गरिरहेको बताए ।
उनले विद्युत प्राधिकरणमा टिम वर्कमा काम गर्ने भन्दै आफूलाई काममा सहयोग गर्ने देशभरका प्राधिकरणका युनिटहरुमा कार्यरत कर्मचारीलाई धन्यवाद दिए ।