कुलमानले कार्यसम्पादनमा पाएको अंकबारे जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाण्डु टुडे २०८१ फागुन २१ गते १४:३६ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– प्रतिनिधिसभाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मुल्यांकनमा शून्य अंक पाएकोबारे जवाफ दिन सरकारलाई निर्देश गरेको छ ।

आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले घिसिङले पाएको अंकबारे सरकारसँग जवाफ मागेका थिए । यो विषयमा रुलिङ गर्न सभामुखसँग आग्रह गरेका थिए । त्यसपछि सभामुख घिमिरेले विपक्षीहरूले उठाएको विषयबारे जवाफ दिन निर्देशन दिएका हुन् ।

‘आजको बैठकमा सबै प्रतिपक्षहरूबाट राखिएको विषय तथा माननीय सदस्यहरूले आकस्मिक, शून्य समय र विशेष समयमा उठाउनुभएका विषयमा समेत प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ प्रति सम्बन्धित माननीय मन्त्रीहरूको म गम्भीर ध्यानाकर्षण गराउँदछु ।

साथै उठेका विषयहरूमा सभालाई जानकारी गराउन म निर्देश गर्दछु,’ सभामुख घिमिरेले भने । प्रतिनिधिसभा नियमावलीको नियम १५ मा शून्य र विशेष समयसम्बन्धी व्यवस्था छ ।

उपनियम २ मा आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनु पर्ने प्रावधान छ । यसअनुसार सभामुख घिमिरेले जवाफ दिन मन्त्रीहरूलाई निर्देश गरेका हुन् ।

सभामुखले निर्देश गर्नु अगाडि प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले कुलमान घिसिङलाई सरकारले हटाउन खोजेको भनेर सरकारको ध्यानाकर्षण गरेका थिए । साथै घिसिङले कार्य सम्पादन मूल्यांकनमा शून्य अंक पाएको भनेर सरकारसँग जवाफ माग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us