अवैध नेपाली आप्रवासी लिएर अमेरिकी जहाज काठमाण्डू आउँदै

काठमाण्डु टुडे २०८१ फागुन २१ गते ८:११ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– आज (बुधबार) अवैध नेपाली आप्रवासी लिएर अमेरिकी जहाज काठमाण्डू आउँदै छ । विश्व शक्ति राष्ट्र अमेरीकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाण्डू आउने लागेको हो ।

अध्यागमन कानुन उल्लंघन गर्ने केही नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार विहान १० बजे काठमाण्डू आउने बताइएको छ । निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए ।

अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलोपटक चार्टर जहाज काठमाण्डू आउन लागेको हो। यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई)ले अवैध नेपालीहरूलाई विभिन्न एरयलायन्सबाट नेपाल फर्काउने गरेको थियो। स्रोतका अनुसार चार्टर जहाजमार्फत नेपाल फर्काइनेहरूमा ११ नेपाली रहेका छन् ।

झन्डै एक महिना अगाडि नेपालस्थित अमेरिकी दूतावासले निष्कासित भएका केही नेपालीलाई चार्टर जहाजबाट काठमाण्डू ल्याउने तयारी भइरहेको गृह मन्त्रालयलाई जानकारी गराएको स्रोतले जानकारी दिएको छ ।

पछिल्लो दुई महिनामा कम्तीमा २९ जना नेपालीलाई अमेरिकाले डीपोर्ट गरेको छ। जनवरी २० पछि उक्त संख्यमा बढोत्तरी भएको स्रोतको दाबी छ। अमेरिकाले अंग्रेजी महिना जनवरी र फेब्रुअरीमा गरी २९ जनालाई निष्कासन गरेको हो । ती नेपालीहरू विभिन्न एयरलायन्समार्फत नेपाल फर्काइएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us