सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपाको निर्णय

काठमाण्डु टुडे २०८१ फागुन २० गते २०:४० मा प्रकाशित

काठमाण्डू, २० फागुन- जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ ।

मंगलबार सम्पन्न जसपा केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो । सो पार्टीका पार्टी प्रवक्ता मनिष सुमनले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय बैठकले गरेको बताए ।

सरकारले संसद् छलेर ल्याएका ६ अध्यादेशमध्ये भूमिसम्बन्धीबाहेक ५ वटा पारित गर्न जसपा तयार छ । भूमाफियाको स्वार्थमा सार्वजनिक जग्गा बाँड्न भूमिसम्बन्धी अध्यादेश ल्याइएको आरोप जसपाको छ ।

राष्ट्रिय सभामा निर्णायक मानिएको जसपाको साथ नपाएसम्म पारित नहुने भएपछि सरकारले भूमिअध्यादेश फिर्ता लिने र ५ वटा मात्र संसदमा लैजाने तयारी गरेको छ ।
जसपाले सरकारको कामकारबाहीप्रति भने सन्तुष्ट हुन नसकिने निस्कर्ष निकालेको छ ।

भ्रष्टाचार अन्त्य, सुशासन, विकास र संविधान संशोधनका लागि वर्तमान सरकारले काम गर्न नसकेको जसपाको भनाइ छ ।

बैठकले पाथिभरामा ‘नो केबलकार अभियान’ चलाइरहेकाहरुसँग वार्तामार्फत समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us