काठमाण्डू, २० फागुन– प्रहरीले दुधौली नगरपालिका–९ की १७ वर्षीया अनिसा सदाको हत्या गर्ने मृतककी श्रीमान्लाई पक्राउ गरेको छ ।
गएराति अनिसाको हत्या गरेको आरोपमा उनका श्रीमान् दुधौली नगरपालिका–८ कछुवाखाडीका २२ वर्षीय दिनेश सदालाई प्रहरीले आज पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दिनेशले गएराति घरछेउको भान्सामा घाँटी थिचेर श्रीमती अनिसाको हत्या गरेका हुन् ।
सो घटनाबारे आज बिहान ७ बजे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी दुधौली र इलाका प्रहरी कार्यालय डकाहाबाट घटनास्थलमा गएको संयुक्त टोलीले अभियुक्त दिनेशलाई निजको घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा आपसी मनमुटावका कारण श्रीमतीको घाँटी थिचेर हत्या गरेको देखिएको र दिनेशले श्रीमतीको हत्या गरेको भनी स्वीकारेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।
श्रीमतीको हत्या गरेको आरोप लागेका दिनेशलाई इलाका प्रहरी कार्यालय डकाहाको नियन्त्रणमा राखेर अहिले अनुसन्धानको काम भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।