कुनै बहानामा चिकित्सकलाई न्यूनतमभन्दा कम तलब दिन पाइँदैनः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८१ फागुन २० गते १५:०५ मा प्रकाशित

काठमाण्डू, २० फागुन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कतिपय गैरसरकारी अस्पतालहरूले न्यूनतम पारिश्रमिक पनि नदिएको विषय जानकारीमा आएको भन्दै त्यसबारे आपत्ति जनाएका छन ।

आज (मंगलबार) काठमाण्डूमा आयोजित नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले नर्सहरू पनि श्रमिक भएकाले न्यूनतम तलब सबैले पाउनुपर्ने बताएका छन ।

‘म चर्चा सुनिरहेको छु, खुद नर्सहरूले पनि न्यूनतम तलब पाइरहेका छैनन् । यस्तो सुनेको छु । त्यस्तो हो भने, उनीहरू पनि श्रमिक हुन् । फरक होइनन्,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

देशमा अहिले समस्या नै नभएको अवस्था नरहेको जिकिर गर्दै उनले समानता र समाजवादको विकसित रुप आइनसकेको पनि बताएका छन । उनले भने, ‘समस्या नभएका होइनन् ।

हामी धेरै विकसित अवस्थामा पुग्यौं, अहिले पनि समानताको स्थिति आइसक्यो, समाजवादको पनि विकसित रुप आइसक्यो, त्यो होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले पनि न्यूनतम ज्यालाका लागि लड्नु परेको छ ।

अहिले पनि कतिपय गैरसरकारी अस्पतालहरूमा म सुन्छु, हो कि होइन मैले अलिकति अध्ययन गर्नुपर्छ ।’ उनले कुनै पनि बाहनामा नर्सहरूलाई न्यूनतमभन्दा कम तल दिन नहुने पनि बताएका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिएर काममा लगाउन कहीँ पनि पाइँदैन । त्यो कानुन लाग्ने विषय बनाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘पारिश्रमिक कुनै पनि बाहनामा न्यूनतमभन्दा तल दिन पाइँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us