अरूलाई घोचपेच गरेर खुसी हुने प्रवृत्ति बढ्योः खिलराज

काठमाण्डु टुडे २०८१ फागुन १९ गते २०:३६ मा प्रकाशित

काठमाण्डू, १९ फागुन- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समाजलाई अनुशासित र चरित्रवान बनाउन नैतिक शिक्षा र सिकाइ पद्धति सुधार गर्नुपर्ने बताएका छन् ।

सोमबार राष्ट्रपति कार्यालयमा आयोजित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रममा उनले यस्तो बताए ।

उनले अरूलाई घोचपेच गरेर खुसी हुने प्रवृत्ति बढेको बताए । उनले मानवता, नैतिक शिक्षा जस्ता विषयमा पठनपाठन गराउन छोडिएको भन्दै मानवीय शत्चरित्र र आदर्शका गुण हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।

उनले भने, ‘आज सदाचार, नैतिकता र सदाचार जस्ता मानवीय सद्चरित्र जस्ता आदर्शका गुणहरू समाजमा ह्रासोन्मुख छन्। मानवता, नैतिकता र सद्चरित्र जस्ता विषयको सिकाइ र शिक्षाबारे राम्रो गहन अध्ययन गराउनै छोडियो । मानिसमा आफ्नो स्वार्थका लागि जे पनि गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

अनुशासन, विनयशीलता र वाणिमा शालीनता हराउँदै गएको छ। अहंकार, दम्भ र कोभन्दा को कम भन्ने भावना बढेको पाइन्छ । अरूलाई घोचपेज गरेर खुसी हुने र त्यसैमा गर्व गर्ने प्रवृत्ति बढेको छ । त्यसैले व्यक्ति समाजलाई अनुशासित र चरित्रवान बनाउन नैतिक शिक्षा र सिकाइ पद्धति नै सुधारको आवश्यकता छ भन्ने मलाई लाग्दछ ।’

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई सर्वोदय सेवा संघले भैरव सदाचार राष्ट्रिय पुरस्कार २०८१ समर्पण गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us