काठमाण्डू, १९ फागुन– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गुट र फुटलाई परास्त गरेर कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबाट योगदान पुग्ने आशा व्यक्त गरेकी छिन् ।
आज (सोमबार) काठमाण्डूमा ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आशा राखेकी हुन् । यसअघि पनि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री ओलीले खेलेको भूमिकाको खेलेको भन्दै भण्डारीले प्रधानमन्त्री ओलीको प्रशंसा समेत गरेकी छन ।
उनले भनिन्, ‘अध्यक्ष ओलीले नेकपा एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रिककरण गर्न, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ बनाउन निर्वाह गर्नुभएको ऐतिहासिक भूमिकाको म सरहाना गर्दछु,’ भण्डारीले भनिन, ‘भविष्यमा समेत यस किसिमका रचनात्मक पहलकदमी र अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उहाँबाट ठूलो योगदान पुग्ने नै छ ।’
राजनीतिक दलहरुले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई गहिरोसँग आत्मसाथ गर्नुपर्ने उनको भनाइ थियो ।‘बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रुपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनैपनि राजनीतकि घटना तथा परिघटनाले विचलित तुल्याउन सक्दैन,’ भण्डारीले भनिन् ।