काठमाण्डू, १९ फागुन– प्रहरीले पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुइ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका–५ पथरी घर भई ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ४६ वर्षीया भूमिका देवान र बाँके डुडुवा गाउँपालिका–५ कमदी घर भई हाल काठमाण्डू महानगरपालिका–१४ बस्ने ५२ वर्षीय पशुपति खत्री रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकामध्ये भूमिकाले पोल्यान्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रुपैयाँ र पशुपतिले १ जना पीडितबाट २ लाख २३ हजार रुपैयाँ लिई ठगी गरेको आरोप रहेको प्रहरीले जानकारी दिएको छ ।
काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भूमिकालाई ललितपुर सुनाकोठीबाट आइतबार र पशुपतिलाई काठमाण्डूको सतुंगलबाट शनिबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाण्डू पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।