स्ववियु निर्वाचनको तयारीः सातै प्रदेशमा कांग्रेसले खटायो नेता

काठमाण्डु टुडे २०८१ फागुन १८ गते १४:२८ मा प्रकाशित

काठमाण्डू, १८ फागुन– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लक्षित गर्दै सात वटै प्रदेशमा नेता परिचालन गरेको छ ।

स्ववियु निर्वाचनको आन्तरिक तयारीको स्वरुप पहिलो चरणमा कांग्रेसले सात वटै प्रदेशमा नेता परिचालन गरेको हो । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संगठनलाई जिताउन पार्टीबाट समन्वय गर्नेगरी प्रदेशगत रुपमा सात नेतालाई जिम्मेवारी दिइएको छ ।

पार्टी केन्द्रले गरेको तयारी र महामन्त्री विश्वप्रकाश शर्माले तल्लो तहमा गरेको सर्कुलरलाई सञ्चार माध्यममा लान नहुने निर्देशन छ । स्ववियु निर्वाचन नजिकिएसँगै पार्टीका नेताहरूलाई प्रदेशगत जिम्मेवारी दिइएको छ ।

सहमहामन्त्रीहरूमा भीष्म आङ्देम्बेलाई कोशी, महेन्द्र यादवलाई मधेस, महालक्ष्मी उपाध्याय ‘डिना’लाई बागमती, जीवन परियारलाई गण्डकी तोकिएको छ । साथै, लुम्बिनीमा नेताहरू चन्द्र भण्डारी, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई खटाइएको छ ।

स्ववियु निर्वाचनमा पार्टीले निर्णय गरेर सक्रिय नहुने केन्द्रीय तहका नेता बताउँछन् । एक पूर्व विद्यार्थी नेता भन्छन्, ‘पार्टीले निर्णय गरेर स्ववियु निर्वाचनमा लाग्दैन । विद्यार्थी राजनीति गरेर आएकाहरूको चासो हुनु स्वभाविक हो ।’ पार्टी शीर्ष तहबाट महामन्त्री विश्वप्रकाश शर्मालाई स्ववियु निर्वाचनको आन्तरिक तयारीका लागि संयोजन गर्ने जिम्मेवारी पाएका छन् ।

पार्टी केन्द्रीय कार्यालयबाट संयोजन गर्नेगरी केन्द्रीय सदस्य नानु बाँस्तोलालाई जिम्मेवारी दिइएको छ । सात प्रदेशमा जिम्मेवारी पाएका नेताहरूलाई सघाउनेगरी केन्द्रीय कार्यालयबाट सात व्यक्तिलाई पनि खटाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us