जनयुद्धको बेला जस्तै जनताका पीर मर्का बुझ्नमा केही चुक्यौं: प्रचण्ड

काठमाण्डु टुडे २०८१ फागुन १८ गते १२:५९ मा प्रकाशित

काठमाण्डू, १८ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको बेलामा जस्तै जनताका पीर मर्का बुझ्नमा विगतमा केही चुकेको बताएका छन ।

आज आइतबार धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित जनभेटघाटलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘हिजो केही त्रुटी गर्यौं । अलि पहिल्यै आउनुपर्थ्यो हामी–तपाईंहरुका पिर मर्का के छन भन्ने जनयुद्धको बेलामा जस्तै जनआन्दोलनको बेलामा जस्तै सुन्नु पर्ने थियो । त्यो कुरा सदनमा उठाउनुपर्थ्यो ।

सडकमा लैजानुपर्ने थियो । अलिकति त्यहाँ चुकेकै छौं ।’ उनले विगतबाट पाठ सिकेर जनताको कुरा सुन्ने अभियानमा रहेको भन्दै आगामी दिनमा नियमित रुपमा जनतासँग रहने पनि बताएका छन । उनले जनताको कुरा सुनेर त्यसअनुसार राज्य सञ्चालनमा भूमिका खेल्नका लागि जनताको साथ पनि चाहिएको पनि बताएका छन ।

सरकारमा रहेर काम गर्न खोज्दा खोज्दै संख्याका कारण सरकारमा रहन नसकेको पनि उनले बताएका छन । आफू नेतृत्वको सरकारले कर्णालीलाई, मधेशलाई र सुदुरपश्चिमलाई उच्च प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट ल्याएको पनि बताएका छन ।

उनले भने, ‘राम्रो गर्न खोज्दा खोज्दै यो देशका लाल पूँजीपतीहरू, नोकरशाहरू भन्छौं हामी ठूलो ठूलो नोकरी गरेर जनतालाई शोषण गर्नेहरू, बिचौलिया ठगहरू यी सबै मिलेर हामीले जनता र राष्ट्रको पक्षमा काम गर्दा गर्दै हामीलाई सरकारबाट संख्याको कारणले हटाए ।’

उनले आफू नेतृत्वको पार्टीलाई पुनः सरकारमा जान जनताको मत चाहिएको बताएका छन । ‘विशेष रुपले अनुरोध गर्न चाहन्छु– हामीलाइ संसदमा संख्या चाहियो ।

हामीलाई तपाईंहरुको मत चाहियो ।’ प्रचण्डले मधेसी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us