काठमाण्डू, १७ फागुन- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अभिभावकीय भूमिका दिन माग गरेका छन् ।
शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले पूर्वराजालाई भूमिका दिएर नवीन समझदारी गर्न गणतन्त्र पक्षधर कांग्रेस र कम्युनिष्ट पार्टीहरुलाई आग्रह गरे । शासन गर्न नभई दलहरुले खराब काम गर्न खोज्दा रोक्ने भूमिकामा राजा रहनुपर्ने जिकिर लिङदेनको थियो ।
राजादेखि माओवादीसम्म अटाउने मौलिक व्यवस्थाका लागि नवीन समझदारी जरुरी भइसकेको उनले बताए । राजसंस्थालाई भूमिका दिन कांग्रेस र कम्युनिष्ट तयार नभए उनीहरुलाई फाल्न जनता निर्णायक विद्रोहका लागि तयार भएको दाबी उनले गरे ।
राजालाई भूमिका नदिए हुने विद्रोहले काँग्रेस र कम्युनिष्टका लागि खराब समय आउने चेतावनी लिङदेनले दिए । अध्यक्ष लिङदेनले खराब समयको सामना गर्न तयार रहन पनि धम्की दिए ।
।
‘कान खोलेर सुने हुन्छ जनता विद्रोहका लागि तयार छन् । हामीले रोकेर रोकिन्न विद्रोह,’ लिङदेनले भने, ‘देशले थप क्षति बेहोर्न नदिन जनता विद्रोहका लागि सडकमा आउनुअघि नै सहमति गरौं ।’
अध्यक्ष लिङ्देनले मुलुकमा भ्रष्टाचार संस्थागत भएको तथा वर्तमान काँग्रेस एमाले सरकारले भ्रष्टाचारीहरुको संरक्षण गरिरहेको आरोप लगाए ।
अरुलाई निरंकुशको संज्ञा दिने कांग्रेस र एमाले आफै दुई दलीय व्यवस्थामार्फत निरंकुशता लाद्न उद्धत रहेको आरोप लिङदेनले लगाए ।
फरक प्रसंगमा उनले कांग्रेस र एमालेले अध्यादेश पारित गर्न संख्या नपुगेपछि दल विभाजन वा सांसद् खरिद बिक्रीको तयारी गरेको आरोप लगाए ।