काँग्रेस नेता नै भन्न थालेः सरकारले दुई तिहाईको दम्भ देखाउन छाड्नुपर्छ

काठमाण्डु टुडे २०८१ फागुन १७ गते १९:२८ मा प्रकाशित

पोखरा,१७ फागुन– कांग्रेस नेता एनपी साउदले सरकारले दुई तिहाईको दम्भ देखाइरहेको भन्दै आपत्ति जनाएका छन् ।

नेपाल भूतपूर्व सैनिक संघको पहिलो गण्डकी प्रदेश अधिवेशनलाई शनिबार पोखरामा उदघाटन गर्दै साउदले दुई तिहाईको दम्भ छाड्नुपर्ने बताए ।

सरकारले दुई तिहाइको दम्भ देखाएर सुरक्षासँग सम्बन्धित कानून बनाउन नहुनेमा उनको जोड थियो ।

सरकारले संसदमा दर्ता गराएको नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेययकमा सत्तापक्षकासहित १ सय बढी सांसदले संशोधन हाल्ने अवस्था आउनु राम्रो नभएको प्रतिक्रिया साउदले दिए ।

विधेयकमा सुरक्षा निकायको ‘चेन अफ कमाण्ड’ कमजोर बनाउने गरी निजामती प्रशासनमा अधिकार केन्द्रित गर्दा दूरगामी असर पर्न सक्ने विषयमा सरकारले गम्भीर नरहेको आरोप लगाए ।

साउदले दुई तिहाइको सरकार बनेको सात महिना बित्दासम्म संविधान संशोधनको दिशामा कुनै काम नभएकामा पनि असन्तुष्टि जनाए । संविधान संशोधनको नाममा दुई ठूला दल काँग्रेस र एमाले मिलेको स्मरण उनले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us