सिरहाका सिडिओ र एसपी भेटेर प्रचण्डले मागे रिंकु सदाको परिवारलाई न्याय

काठमाण्डु टुडे २०८१ फागुन १७ गते १९:१० मा प्रकाशित

सिरहा, , १७ फागुन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग रिंकुकुमारी सदाको शंकास्पद मृत्यु तथा घटनाको अनुसधान प्रक्रियाबारे जानकारी लिएका छन् ।

जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानका क्रममा शनिबार सिरहा पुगेका उनले प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र जिल्ला प्रहरी प्रमुख एसपी रमेश पण्डितलाई बोलाएर घटनाबारे जानकारी लिएका हुन् ।

अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग आजै भेट गरेको उल्लेख गर्दै परिवारले हत्या नै भएको आशंकाले गरेका संवेदनशील भएर सत्यतथ्य अनुसन्धान गर्न आग्रह गरे ।

बलात्कारपछि पन्चायतले मिलापत्र गराउन खोजेकाले बलात्कार भएको देखिए पनि हत्या वा आत्महत्या के हो यथार्थ छानबिन हुनुपर्ने र दर्ता भएका सबै जाहेरीमा अनुसन्धान हुनुपर्ने उनले बताए ।

रिंकुको गत १७ माघको राति शौच गर्न बाहिर निस्किएका बेला अपहरणपछि बलात्कार भएको थियो । घटनाको भोलिपल्ट उनको मृत्यु भएको थियो ।

बलात्कारमा संलग्न तीन युवा र गाउँमै घटना मिलाउन दबाब दिने पञ्चायतका ५ जनाविरुद्ध परिवारले किटानी जाहेरी दिए पनि उनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us