रौतहट, १७ फागुन–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा माओवादीलाई कमजोर पार्न रौतहटमा २९ जनाको विभत्स हत्या गरिएको बताएका छन् ।
हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा शनिबार सिरहामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले माओवादीको बढ्तो तागतलाई रोक्न २९ माओवादी कार्यकर्ताको क्रुरतापूर्वक हत्या गरिएको बताए ।
देशभित्र र बाहिरका प्रतिक्रियावादी र दलालहरू मिलेर उक्त हत्याकाण्ड गराएको उनको भनाइ थियो । उक्त घटनापछि माओवादीबारे भ्रम पैदा गर्न अनेक खाले दुष्प्रचार अभियान चलाइएको प्रचण्डले बोलाए ।
प्रचण्डले असली मधेसको मित्र माओवादी भएको दाबी गर्दै आफूहरुको आन्दोलनले जागरण आएपछि मात्र मधेसीवादी दलको जन्म भएको बताए ।
विचार, राजनीति र मनैबाट मधेसी जनताका निम्ति नभई स्वार्थका लागि मात्र मधेसी दलको जन्म गराइएको उनको भनाइ थियो ।
माओवादीले मधेसका गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई राष्ट्रिय रूपमा सम्मान दिन राष्ट्रपति उम्मेदवार बनाए पनि आफूलाई मधेसको मसिहा ठान्नेहरूले नै उनलाई हराइदिएको स्मरण प्रचण्डले गरे ।
मधेसी जनताको मुक्तिका लागि सबैभन्दा बढी त्याग र वलिदान गर्ने पार्टी माओवादी भएको दाबी उनले गरे । माओवादी जनयुद्धमा झण्डै १ हजार ३ सय मधेसी जनताका छोराछोरीले बलदान गरेको उनले उल्लेख गरे ।
उनले मधेसमा माओवादीविरुद्ध भ्रम फैलाउने क्रम अझैसम्म नरोकिएकाले मधेसी जनतासँग सम्बन्धलाई दरिलो बनाउन आफूहरु अभियान लिएर हिंडेको उनको भनाइ थियो ।