काठमाण्डू, १७ फागुन– एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको वार्ता तनावपूर्ण बनेको विषयमा प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जालमार्फत त्यसबारे धारणा सार्वजनिक गर्दै पोखरेलले यो प्रकरणले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्ध प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएको बताए ।
अमेरिका भ्रमणमा रहेका जेलेनेस्की र ट्रम्पबीच ह्वाइट हाउसमा भएको वार्तामा रुस–युक्रेन युद्ध, शान्ति प्रयासलगायत विषयमा छलफल चलिरहँदा भनाभन भएको थियो । वार्ता बीचैमा भंग भएपछि ह्वाइट हाउसका अधिकारीले तत्काल बाहिरिन जेलेनेस्कीलाई निर्देशन दिएका थिए ।
‘अमेरिका र युक्रेनबीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको छ’, पोखरेलले भनेका छन्, ‘हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नु पर्दछ ।’
पोखरलले नेपाल–भारतबीचको सम्बन्ध सुधानुपर्ने सन्देश घटनाले दिएका संकेत गरे पनि त्यसबारे खुलाएका छैनन् । केपी ओली गत असारमा प्रधानमन्त्री भएपछि नेपाल–भारत सम्बन्ध थप चिसिएको छ । ओलीले दिल्ली भ्रमणमा बोलाउन पटकपटक गरेको आग्रह भारतले अस्वीकार गर्दै आएको छ ।
छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला र शक्तिशाली देशहरुले पनि दुःख पाएको पोखरेलले बताए ।
‘छिमेकका विरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदो रहेछ’, उनले लेखेका छन् ।
रुस र युक्रेन दुवैका लागि युद्ध घाडो भएको भएको उनले युद्ध अन्त्यका लागि उनीहरुले निकै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था देखिएको बताए ।
शान्ति र स्थायित्वका लागि अब हरेक देशले सोच्नु पर्ने भन्दै पोखरेलले क्षेत्रीय शान्तिबिना विश्व शान्ति सम्भव नहुने उल्लेख गरे ।
एसियाली देशहरुले आपसी सम्बन्धको विकासमा जोड़ दिने हो भने एसिया विश्वसभ्यताको केन्द्रका रुपमा पुनः स्थापित हुने अवस्था रहेको दाबी उनको छ ।
अमेरिकाको पछिल्लो रणनीतिले एसिया भू–राजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने संकेत गरेको दाबी गरे ।
गाजा क्षेत्र प्यालेस्टानीहरुबाट खोस्ने योजना तथा रुस–युक्रेन युद्ध अन्त्यको नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसँग नजोडिएको जिकिर पोखरेलले गरे ।
त्यसको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय बन्ने र यस प्रकारको स्वार्थपरक नीतिले अन्ततः आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भू–राजनीतिक द्वन्द्वको विकास गर्ने तर्क पोखेरलको छ ।