चोर भनेर बाबुआमाले प्रतिकार गर्दा छोराको मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन १६ गते १८:१५ मा प्रकाशित

काठमाण्डू, १६ फागुन– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीमा मध्यराति घरमा चोर आएको भन्दै प्रतिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३० वर्षीय भरथकुमार भ्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन । बिहीबार राति ९ बजेतिर भरथकुमार आफ्नो घरमा गएका थिए ।

त्यतिबेला घरमा उनका ६४ वर्षीय बुबा मीनबहादुर र ६३ वर्षीया देवीमाया भ्लोन थिए । मुखमा मास्क लगाएर आएका व्यक्तिले मीनबहादुर र देवीमायाको आँखामा खुर्सानीको धुलो हालेपछि उनीहरूले चोर भन्दै प्रतिकार गरेको डीएसपी अर्यालले जानकारी दिएका छन ।

प्रतिकार गर्दा आफ्नै छोरामाथि निर्घात कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवन पठाइएको थियो । चितवनमै उपचारको क्रममा भरथको मृत्यु भएको डीएसपी अर्यालले जानकारी दिएका छन ।

भरथ विगत चार वर्षदेखि घर समेत नआएकाले बाबुआमाले नचिनको र त्यसमाथि खुर्सानीको घुलो समेत आँखामा हालिएकाले चोर भन्दै उनीहरूले प्रतिकार गरेको हुन सक्ने अर्यालले जानकारी दिएका छन ।

छोराका कुटाइबाट ६४ वर्षीय बाबुको करङ र हातको औंला भाँचिएको उनले जानकारी दिएका छन । आमाको पनि हात भाँचिएको छ । मकवानपुरमा उपचार कठिन भएपछि थप उपचारका लागि उनीहरूलाई काठमाडौं पठाइएको छ ।

घाइते बाबुआमालाई निगरानीमा राखेर अनुसन्धान गरिएको उनले जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us