काठमाण्डू, १६ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र बिचौलियाको साँठगाँठमा मलको कृत्रिम अभाव सिर्जना गरिएको आरोप लगाएका छन ।
आज (शुक्रबार) सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका–८ को तोप भन्ने ठाउँमा आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
उनले किसानलाई मर्कामा पारेर बिचौलियाले सरकारसँग साँठगाँठ गरी नाफा कमाउने उद्देश्य लिएको आरोप लगाएका हुन । उनले भने, ‘हाम्रो नेतृत्वको सरकार हुँदासम्म मलखादको समस्या हुन दिइएको थिएन । मूलभूत रुपमा मलखादको समस्या हल गरिएको थियो, जतिबेलासम्म हाम्रो सरकार थियो, ‘तर अहिले कांग्रेस–एमालेको सरकार बनिसकेपछि मलको समस्या ठूलो समस्याको रुपमा खासगरी तराई मधेशभरि र अन्यत्र पनि देखिएको छ ।’
उनले अगाडि भने, ‘यो किन त्यस्तो भाछ भन्दा सरकार र बिचौलियाहरुले सेटिङ गरेर किसानहरुलाई मर्कामा पार्ने र त्यहाँबाट नाफा लिने उद्देश्य लिएको हुनाले दुःख भाहो ।’उनले यसविरुद्ध आवाज उठाउने र समस्या समाधानको पहल गर्ने उनले आश्वासन समेत दिएका छन ।