खगराज भट्टलाई सुदूरपश्चिमको दल नेता बनाउन प्रचण्डको निर्देशन

काठमाण्डु टुडे २०८१ फागुन १५ गते ८:०० मा प्रकाशित

काठमाण्डू, १५ फागुन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खजराज भट्टलाई सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता बनाउन निर्देशन दिएका छन् ।
सुदूरपश्चिमका नेता र प्रदेश सांसदहरुसँग आफ्नै निवास खुमलटारमा बुधबार भएको छलफलमा उनले भट्टलाई दल नेता बनाउने पार्टी निर्णय कार्यान्वयन गर्न निर्देशन दिए ।

सोही छलफलका लागि हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान बीचैमा छाडेर प्रचण्ड बुधबार विराटनगरबाट केही घण्टाका लागि काठमाण्डू आएका थिए ।
पार्टीको निर्देशन पालना नगरेको भन्दै भट्टले पार्टीका नेता र प्रदेशसभा सदस्यहरुसँग असन्तुष्टि जनाए । आफू २० फागुनमा टीकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा सहभागी हुन कैलाल आउने भन्दै त्यसअघि नै भट्टलाई दल नेता बनाउने निर्णय गर्न प्रचण्डले निर्देशन दिएको नेताहरुले बताएका छन् ।

२०८० माघमा १० मध्ये ६ प्रदेशसभा सदस्यले भट्टलाई हटाएर मानबहादुर धामीलाई दल नेता बनाएका थिए । मानबहादुर धामी, अक्कलबहादुर रावल, ओमविक्रम भाट, लक्ष्मी विक, शिवसिंह ओली र गीतादेवी माल धामीको पक्षमा छन् ।

भट्टको पक्षमा झपटसिंह रावल, रमेशसिंह धामी र जानकी पौडेल कुँवर छन् । श्रोतका अनुसार धामीले दल नेता छाड्न तयार भए पनि आफ्नो व्यवस्थापन हुनुपर्ने अडान राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us