काठमाण्डू, १४ फागुन– यस बर्षको महाशिवरात्रिका अवसरमा काठमाण्डूको पशुपतिनाथ मन्दिरमा भक्तजनको व्यापक भीड लागेको छ ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो ।
दुई बजेदेखि नै बढेको भिड अहिले झन् बढ्दै गएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिएका छन ।
दर्शनार्थीहरुलाई पशुपति क्षेत्रको बाहिरी भागबाट चार र भित्री भागमा आठवटा लाइनको व्यवस्था गरिएको छ । व्यवस्थित रूपमा भक्तजनले लाममा बसेर दर्शन गर्न सक्ने व्यवस्था गरिएको कोषले जानकारी दिएको छ । महाशिवरात्रिका भक्तजनका लागि नेपाली सेनाले पुष्पवृष्टि पनि गरेको छ ।
नेपाली सेना र अन्य विभिन्न संस्थाहरुले पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरीएको छ । हंसमण्डपमा विभिन्न संघसंस्थाले भोजन, पानीलगायत सेवा दिइरहेका छन् ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तलाई गत सोमबारदेखि नै गुठी संस्थान, कोषलगायत सरकारी एवं गैरसरकारी संघसंस्थाले खाने–बस्ने व्यवस्था गरेका छन् ।
यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर फूल र बत्तीले झिलीमिली बनाइएको छ । भक्तजनहरु त्यहाँ पुगेर फोटो खिच्ने गरेका छन् ।
सजावटका लागि फूलहरु भारतबाट समेत आयात गरिएको पशुपति क्षेत्र विकास कोषका अधिकारीहरु बताउँछन् । महाशिवरात्रिका दिन धेरै भीड हुने भएकाले कति भक्तजन भने लाइन नबसी पशुपति क्षेत्र पुगेर मूल मन्दिरको गजुर मात्र दर्शन गरेर फर्कने गरेका छन् ।
गजुर दर्शन गर्दा पनि पशुपतिनाथ मन्दिरमै गएर दर्शन गरेको बराबर फल मिल्ने विश्वास गरिन्छ ।