प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप फाइनल खेल हेर्ने

काठमाण्डु टुडे २०८१ फागुन १४ गते १२:११ मा प्रकाशित

काठमाण्डू, १४ फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज हुन लागेको अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप फाइनल खेल हेर्न जाने भएका छन ।

साँझ ६ बजे नेपाल र म्यानमारबीच हुने फाइनल खेल हेर्न उनी दशरथ रंगशाला जाने तालिका रहेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । ४ राष्ट्र सम्मिलित प्रतियोगितामा दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् ।

दुवैले लेबनान र किर्गिस्तानलाई हराउँदा एकअर्कासँग बराबरी खेलेका थिए । त्यसअघि उनी सेन्ट्रल भेन्यू पुल्चोक, ललितपुरमा जारी केपी ओली कपमा खेलाडीहरुसँग भेटवार्ता गर्नेछन् ।

सैनिक मञ्च टुँडिखेलमा हुने महाशिवरात्रि तथा २६२औं सेना दिवस समारोहमा सहभागी भएर उनी सेन्ट्रल भेन्यूमा जाने तालिका रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us