काठमाण्डू, १४ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी २०६४ कै अवस्थामा फर्किने दाबी गरेका छन् ।
आज (बुधबार) विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्लो समय झापा र मोरङ धेरैपटक आउँदा ०६४ कै झल्को देख्ने गरेको बताएका हुन , अध्यक्ष प्रचण्डले भने, ‘यसबीचमा म धेरैपटक आएको झापा९मोरङ आएको छु ।
मैले अलिकति झल्को ०६४ को पाएको छु ।’ अध्यक्ष प्रचण्डले माओवादीप्रतिको अहिले लहरलाई बचाउन सके मात्रै माओवादी ०६४ सालकै स्थितिमा फर्किने बताएका छन । त्यसैले अहिले पहिलो पार्टी हुन्छौं भन्ने विश्वासका साथ अभियानमा हिंडेको बताएका छन ।
उनले भने, ‘हामीभित्र समस्या भयो भने त फरक कुरा हो तर त्यो समस्या हुनेवाला पनि छैन, ‘यो लहर हामीले लिएर जाँदा एक नम्बर पार्टी हुन्छौं भन्ने कन्फिडेन्सका साथ हिंडेका छौं ।’
०६४ मा ठूलो भएको माओवादी विभाजन र झगडाले कमजोर भएको बताउँदै त्यसपछि सधैं कुनै दल ठूलो नभएकोले अब ठूलो हुने पालो माओवादीको आएको बताए ।
अब माओवादीलाई जिताएर मात्रै देशमा स्थायित्व र सुशासन कायम हुन्छ भन्ने जनताले बुझेको उनले बताएका छन । अर्को फरक प्रसंगमा प्रचण्डले माओवादी सत्ताको खेलमा नलाग्ने बताए ।
उनले माओवादी अहिले जनता र आफ्नै वर्गतर्फ फर्किएको बताए । ‘यो गठबन्धन ०८४ सम्मै गए पनि हामीलाई केही टेन्सन छैन । हामी जनतातिर छौं । जनतासँगै जान्छौं । आफ्नै वर्गमा फर्किन्छौं । शहीद बेपत्ता परिवारतिर फर्केका छौं । नयाँ ऊर्जा पैदा भएको छ’, उनले भने ।