शिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमाः आरतीमा सहभागी

काठमाण्डु टुडे २०८१ फागुन १३ गते १९:४५ मा प्रकाशित

काठमाण्डू, १३ फागुन- प्रधानमन्त्री केपी ओलीले मंगलबार साँझ महाशिवरात्री पर्व २०८१ को पूर्वसन्ध्यामा पावन पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन् ।

पत्नी राधिकाका साथ पशुपति पुगेका ओलीले ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै शिवरात्री पर्व व्यवस्थापन तयारीबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिए ।

ओलीले पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहजरुपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाण्डूका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए ।

हिन्दू धर्मावलम्बीका आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरमा दर्शनार्थीका रुपमा प्रधानमन्त्री ओलीलाई पाउँदा मन्दिर परिसरमा रहेका सर्वसाधारण भक्तजनले प्रशन्नता र उत्सुकता व्यक्त गरेका प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाण्डूले एक सूचना जारी गरी यही फागुन १२ गतेदेखि १५ गतेसम्म पशुपतिनाथ मन्दिरको चार किल्लाभित्र माछामासु, मदिरा तथा नसालुपदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरिएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us