काठमाण्डू, १३ फागुन– नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी नै जलाइएको छ ।
दूई समुहबीचको झड्प नियन्त्रण गर्न गएको प्रहरीको भ्यान जलाईएको लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीले जानकारी दिए । ‘झडप भएपछि नियन्त्रणका लागि गएको प्रहरीको भ्यान नै जलाइएको छ ।
घटनाबारे अनुसन्धान सुरु गरेका छौं,’ जिसीले भने । झडपलाई नियन्त्रणमा लिन रुपन्देहीबाट समेत थप प्रहरी खटाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार थप मद्दतका लागि ५० जना प्रहरी पठाइएको छ ।
आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय गरी करिब १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिजो (सोमबार) बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको थियो । सोही विषयलाई लिएर आज तनाव बढेको एक प्रहरी अधिकृतले जानकारी दिएका छन ।