काठमाण्डू, १३ फागुन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवाद केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने भए पार्टी खोलेर मैदानमा आउन आग्रह गरेको छ । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबट बोल्दै माओवाद सांसद रेखा शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले पार्टी खोलेर चुनावमा भाग लिएर शासन सत्तामा पुग्ने अधिकार सबैलाई दिएको बताएकी छन ।
माओवादी सांसद शर्माले भनिन्, ‘पूर्वराजलाई भन्न चाहन्छु– राजनीतिमा आउने हो भने पार्टी खोल्ने, पार्टी दर्ता गर्ने हो । राजनीतिमा आएर प्रधानमन्त्री बन्ने हो ।’ संविधान निरंकुश नरहेको ख्याल गर्न पूर्वराजालाई उनको सन्देश छ । उनले भनिन्, ‘अहिलेको संविधान निरंकुश छैन, सबैलाई पार्टी खोल्ने अधिकार दिएको छ ।
त्यतातिर जान उपयुक्त हुन्छ । अन्यथा धेरै चुरीफुरी गर्न आवश्यक छैन ।’ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा यही फागुन ६ गते पूर्वराजा ज्ञानेन्द्रले शुभकामना दिनेक्रममा आफूहरूले शासन सत्ता छोड्नुलाई त्यागको रूपमा व्याख्या गरेका थिए । राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न राजनीतिक दलहरुलाई चेतावनी नै दिए ।
पूर्वराजाको यो अभिव्यक्तिउपर संसद्मा सांसदहरूले प्रश्न गर्दै आएका छन् । माओवादी सांसद शर्माले राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य गर्नका लागि जनताले गरेको संघर्ष ख्याल गरेर आफ्ना अभिव्यक्ति राख्न समेत आग्रह गरेकी छन् । १० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२र०६३ सालको जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको थियो ।
२८ चैत २०६४ सालमा सम्पन्न संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठक (१५ जेठ २०६५) ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । जनताका जनप्रतिनिधिहरूले संविधान सभाबाट गरेको निर्णयलाई पूर्वराजा ज्ञानेन्द्रले त्याग गरेको रुपमा व्याख्या गरेपछि संसद्मै त्यसको विरोध गर्दै आएका हुन् ।