काठमाण्डू, १२ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन अब कुनै पार्टीसँग गठबन्धन नगर्ने र आफ्नै खुट्टामा उभिने घोषणा गरेका छन ।
आज (सोमबार) झापामा आयोजित तराई–मधेश जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन । उनले अरु पार्टीसँग सहकार्य नगर्न माओवादीलाई जनताले नै सुझाव दिएको पनि बताएका छन ।
कांग्रेस एमालेसँग गठबन्धन गरेर सरकारमा रहँदा जनतासँगको सम्बन्ध टुट्न पुगेकोबारे पार्टीले समीक्षा गरिसकेको बताएका उनले अब जनतासँग क्षमा माग्दै सम्बन्ध सुधारमा लागेको पनि बताएका छन ।
प्रचण्डले भने, ‘हामीलाई जनतासमक्ष जानु छ । विगतमा एमाले र कांगेससँग गठबन्धन गर्दा जनतासँगको सम्बन्धबाट विमुख हुन पुग्यौं । अब त्यसो गर्ने छैनौं, ‘जनतासँगै सम्बन्ध बनाउने भनेका छौं ।
आत्मसमीक्षा र भूलसुधार गर्दै जनताले पक्कै साथ दिनेछन् भन्ने विश्वासमा छौं ।’आफूले सरकारको नेतृत्व गर्दा सुशासन र भ्रष्टाचारविरुद्ध निर्मम भएर अभियान चलाएको चर्चा गर्दै प्रचण्डले त्यही कारण रातारात सरकार परिवर्तन गरिएको पनि बताएका छन ।
उनले भने, ‘केही फरार अभियुक्त पक्राउ भए । त्यसपछि रातारात सरकार परिवर्तनको नाटक भयो, ‘यसरी बनेको यो सरकार फेर्ने कसरतमा हामी लागेका छैनौँ ।
बरु, जनतामै गएर निर्वाचनबाट जनताको शक्ति लिएर एक्लै सरकार बनाउनेछौं ।’ प्रचण्डले यसअघि एमाले र कांग्रेससँग सहकार्य गर्दा उनीहरू नै ठूलो पार्टी बनेको भन्दै अब एक्लै चुनाव लडेर ठूलो पार्टी बन्ने दावी पनि गरे । ‘हामीले जोसँग सहकार्य गर्यौं, त्यही ठूलो बन्यो ।
कुनै बेला सहकार्य नगर्दा बरु हामी ठूलो थियौं,’ उनले अगाडि थपे, ‘तपाईंले देख्नुभयो, उपचुनावमा सवत्र हेर्दा एक नम्बर पार्टी बन्यौं । र यो प्रदेशमा त परिणामतः मतसंख्यामा पनि एक नम्बर भयौं ।’